web analytics

आगलागीमा चारको मृत्यु,दुई घाइते

ललितपुर /१९ कार्तिक ।
मंगलबजारको एउटा घरमा शुक्रबार राति म्ह पूजा भइरहँदा लागेको आगोमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षका बालकसमेत छन्। दुई जना गम्भीर घाइते भएका छन्।

ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार, चक्रबहीको ताम्राकार परिवारको घरमा शुक्रबार राति पौने ७ बजेतिर यो दुर्घटना भएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार उनीहरू तेस्रो तलामा म्ह पूजा गर्दै थिए। दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो। त्यही दियोको आगोले झ्यालको पर्दा टिप्यो।
परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले आगो सल्किन थालेको चाल पाएनन्।
‘पर्दामा लागेको आगो ह्वारह्वार्ती दन्किन थाल्यो। पुरानो घर भएर होला, आगोले एक्कासि माथिल्लो तल्लालाई पनि टिप्यो,’ प्रहरी उपरीक्षक महर्जनले भने।
साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्किएको उनले जानकारी दिए।
आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।
घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.