पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ
काठमाडौं, १ कात्तिक।
जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले आफ्नै निवासबाट नियन्त्रणमा लिएर साइबर ब्युरोमा छलफलका लागि लगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको उजुरीपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि ब्युरोमा लगेको हो।
पन्तले आफ्नो चरित्रहत्या हुने गरी भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए। जनआस्थामा प्रकाशित समाचार र सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीलाई लिएर उनीहरूबीच विवाद चर्किएको हो।
विवाद धादिङको थाक्रे गाउँपालिका–१० मा रहेको जग्गाको कारोबारसम्बन्धी विषयमा प्रकाशित समाचारसँग जोडिएको बताइएको छ। उक्त समाचारमा उल्लेख गरिएका विषयप्रति असन्तुष्टि जनाउँदै पन्तले आफ्नो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक छविमा असर पुर्याइएको दाबी गरेका छन्।
यसैबीच, किशोर श्रेष्ठ पक्षबाट पनि हिमेश पन्तविरुद्ध साइबर ब्युरोमा उजुरी परेको समाचार सार्वजनिक भएको छ। पन्तले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गरी गरेका टिप्पणीलाई लिएर श्रेष्ठ पक्षले कानुनी उपचार खोजेको बताइएको छ।
दुवै पक्षबाट उजुरी परेपछि साइबर ब्युरोले घटनाबारे छलफल तथा आवश्यक अनुसन्धान अघि बढाउने प्रक्रिया थालेको छ। उजुरीमा लगाइएका आरोप र दाबीको अन्तिम टुंगो सम्बन्धित प्रमाण तथा कानुनी प्रक्रियाबाट लाग्नेछ।



Comments are closed.