वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
कञ्चनपुर/ भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।
आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटा र पत्रकार कुँवरबीच भनाभन भएको थियो। सोही क्रममा कुँवरले वडाध्यक्षको घाँटी समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको छ।
घटनापछि तत्काल पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध ‘अभद्र व्यवहार’ शीर्षकमा किटानी जाहेरी दर्ता गराएका छन्।
हाल पत्रकार कुँवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी छन् र उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यता, पत्रकार कुँवरले भने सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि दुर्व्यवहार गरेपछि प्रतिकारस्वरूप उक्त घटना भएको दाबी गरेकी छन्।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाकी सदस्यसमेत रहेकी कुँवर संलग्न घटनाप्रति पत्रकारिता क्षेत्रका व्यक्तिहरूले चासो व्यक्त गरेका छन्। धेरै पत्रकारहरूले यस घटनाले पत्रकारिताको मर्यादा र पेशागत आचरणमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।


Comments are closed.