गर्मीका कारण विद्यालय ४ दिन बन्द, नगरप्रमुखद्वारा ‘लु’ बाट बच्न आग्रह
धनगढी, ८ असार ।
विगत केही दिनदेखि बढ्दो अत्याधिक गर्मीका कारण धनगढी उपमहानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू ४ दिनका लागि बन्द गरिने भएको छ ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक आधिकारिक सूचना जारी गर्दै मिति २०८३ असार ९ गतेदेखि असार १२ गतेसम्म ४ दिनका लागि विद्यालयमा पठनपाठन कार्य रोक्ने निर्णय गरेको हो ।
कार्यालयका शिक्षा अधिकृत जयराज जैसीद्वारा हस्ताक्षरित सूचना अनुसार, बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्ने सम्भावना र त्यसको प्रतिकूल असरलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । यो बिदा पछि हुने वर्षे र हिउँदे बिदाबाट मिलान गरिने जानकारी सूचनामा उल्लेख छ ।
उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई उक्त अवधिभर अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउन अनुरोध गरेको छ । साथै, गर्मी र ‘लु’ बाट बच्नका लागि आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्न सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूमा अपिल समेत गरिएको छ ।
यसैबीच, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो सूचना सार्वजनिक गर्दै सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । नगरप्रमुख हमालले गर्मीको समयमा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सावधानी अपनाउन र ‘लु’ को जोखिमबाट बच्ने उपायहरू अपनाउन विशेष अनुरोध गर्नुभएको छ ।


Comments are closed.