कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका व्यक्ति पक्राउ
कञ्चनपुर/असार ७
- आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई अनुहार तथा शरीरका विभिन्न भागमा जलाइ घाइते बनाएर फरार भएका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ वर्षीय अशोक भट्टले २०८२ पुस १५ गते भान्सा कोठामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएका थिए। घटनामा उनकी श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर रुपमा जलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका भट्ट विरुद्ध तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी क्रूरता गरेको कसुरमा मुद्दा दर्ता गरिएको थियो। कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।
यसै क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ असार ६ गते भीमदत्त नगरपालिका–४ बाट भट्टलाई पक्राउ गरेको हो।
पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।![]()



Comments are closed.