web analytics

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबिच एकीकरण, भयो सात बुँदे सहमति

काठमाडौ/१५ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकीकरण गरेका छन्।

सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्नुअघि बालेन, रवि र कुलमानबीच छलफल भएको थियो।

कुलमानलाई वरिष्ठ उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने

कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे सहमति भएको हो।

सम्झौताको पहिलो बुँदामा जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको छ।

दोस्रो बुँदामा भनिएको छ, ‘उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने।’

तेस्रो बुँदामा पार्टीको नाम चुनाव चिन्ह र झण्डाको विषय उल्लेख छ।

एकता पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख छ।

अब रास्वपाको सभापति रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्।

उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर तोक्ने सम्झौता छ।

सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमती पत्रमै उल्लेख छ। परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि गोलवद्ध हुन सम्झौता मार्फत आव्हान गरेका छन्।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.