हावाहुरीले ढलेको रुखले च्यापिँदा पूर्व क्याम्पस प्रमुख भण्डारीको मृत्यु
कैलाली/ जेठ २
कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुन्दर टोलमा शुक्रबार बिहान आएको हावाहुरीले सालको रुख ढल्दा गम्भीर घाइते भएका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य एवं राष्ट्रिय कलेज, सुखडका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रममा निधन भएको छ।
उक्त जानकारी स्थानीय पत्रकार विरेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
५२ वर्षीय भण्डारीलाई दुर्घटनापछि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए।
टाउकोमा गम्भीर चोट लागेका भण्डारीको अवस्था चिन्ताजनक रहेकाले उपचारको क्रममा चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका भण्डारीको निधनले स्थानीय शिक्षा क्षेत्र र समुदायमा ठूलो क्षति पुगेको छ।


Comments are closed.