प्रमुख राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गर्दै
काठमाडौं/असोज ३
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीतर्फ सोमबार उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ। मंसिर ४ गते तय भएको निर्वाचनका लागि शनिबार रातिबाट प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गएको हो।
निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेपनि प्रमुख राजनीतिक दलहरुले पेश गरेका छैनन्। नेकपा एमाले, कांग्रेस, माओवाली केन्द्र लगायतका दलहरुले आज निर्वाचन आयोगको कार्यालयमा पुगेर बन्द सूची पेश गर्न लागेका हुन्। नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले संघीय संसद अर्थात प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन्।
निर्वाचन आयोगका अनुसार संघमा प्रतिनिधि सभाका लागि बढीमा ११० जना उम्मेदवारको बन्दसूची पेस गर्न पाउनेछन्। यसैगरी प्रदेश सभाका लागि बढीमा २२० जना उम्मेदवारको बन्द सूची पेश गर्नुपर्नेछ। आदिवासी जनजाति ३२, खस–आर्य ३४, थारू ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको उम्मेदवार मनोनयन असोज २३ गतेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था निर्वाचन कानुनमा रहेको जनाइएको छ। प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिकतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १४ (२) मा व्यवस्था गरिएको छ।
दफा १४ कै उपदफा (१) मा लेखिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दिन सक्नेछ। त्यसरी कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ।’
यस्तै दफा ४ मा कुनै व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भए दुवैतर्फको उम्मेदवार बदर गरिने व्यवस्था छ।



Comments are closed.