पुनर्वासमा माघ २२ देखि फागुन ३ सम्म ‘पुनर्वास महोत्सव–२०८२’ आयोजना हुने
कञ्चनपुर/माघ ५ ।
पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा पुनर्वास नगरपालिकाको पैसट्ठी विगाहमा आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म ‘पुनर्वास महोत्सव–२०८२’ आयोजना हुने भएको छ। महोत्सवको तयारीबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले करिब पन्ध्र वर्षपछि पुनः महोत्सव आयोजना हुन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार २०६७ सालमा पुनर्वास उद्योग वाणिज्य संघकै पहलमा पहिलोपटक महोत्सव आयोजना गरिएको थियो। त्यसपछि निरन्तरता दिने प्रयास भए पनि विभिन्न अप्ठ्याराका कारण महोत्सव आयोजना हुन नसकेको बताउनुभयो। हाल पुनर्वास नगरपालिकाको सहयोगमा महोत्सव आयोजना गर्न सम्भव भएको र नगरपालिका मुख्य प्रवर्द्धकका रूपमा रहेको उहाँले स्पष्ट पार्नुभयो।
पुनर्वासको पहिचान र समृद्धि, पर्यटन विकास, स्थानीय उत्पादनको प्रवर्द्धन तथा उत्पादनमा जोड पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रायमाझीले बताउनुभयो। महोत्सवले पुनर्वासलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवलाई सुरक्षित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न स्थानीय प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला स्तरका सरोकारवाला निकायसँग समन्वय गरिने जनाइएको छ। साथै स्वयंसेवकको व्यवस्थासँगै पुनर्वासका विभिन्न क्लबहरूसँग सहकार्य गरी कार्यक्रम सफल बनाइने आयोजकको भनाइ छ।
महोत्सव स्थलमा १०० देखि १५० वटा व्यवसायीक स्टल रहनेछन्। होटल तथा खानपानका स्टल राख्न दिइने भए पनि मदिरा निषेध गरिने आयोजकले जनाएको छ। पर्यटकीय स्थल प्यारातालको प्रवर्द्धनका लागि मायाको चिनो तथा पुरस्कारहरूमा प्यारातालको आकृति समावेश गरिनेछ भने पुनर्वासका आर्थिक, धार्मिक र सांस्कृतिक सम्पदाको समेत प्रचार–प्रसार गरिने उद्देश्य रहेको छ।
आयोजक पुनर्वास उद्योग वाणिज्य संघले महोत्सव सफल बनाउन आम सर्वसाधारण, व्यापारी, व्यवसायी, पत्रकार तथा समाजका सबै वर्गसँग आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।


Comments are closed.