पुनर्वासमा २८६२ औँ सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न(फोटो फिचर सहित)
कञ्चनपुर/५ माघ ।
तामाङ समुदायको महान पर्व २८६२ औँ सोनाम ल्होछार (त ल्हो–घोडा वर्ष) को पावन अवसरमा पुनर्वास नगरपालिका–३ स्थित आईबिआरडी क्षेत्रको पैसठ्ठी बिगाहमा विविध सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङ मूल आयोजक समिति पुनर्वास, कञ्चनपुरको आयोजनामा कालिका युवा क्लबको खेल मैदानमा कार्यक्रम आयोजना गरिएको हो। दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने नाचगान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। लोकप्रिय गायक अरविन तामाङ र स्थानीय कलाकार सोमबहादुर तामाङको प्रस्तुति चलिरहँदा सयौँ सर्वसाधारण चौरमा नाच्दै उत्सवमा सहभागी भएका थिए। पुनर्वासका विभिन्न गाउँबाट आएका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रम सफल बनाउन पुनर्वास नगरपालिका मुख्य प्रवर्द्धकका रूपमा रहेको थियो भने ‘हाम्रै साझा पत्रिका’ मिडिया पार्टनरका रूपमा सहभागी रहेको थियो। साथै, कार्यक्रम सम्पन्न गर्न सक्रिय सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रम मूल आयोजक समितिका अध्यक्ष रामबहादुर तामाङको सभापतित्वमा तथा पूर्व प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
फोटो फिचर




Comments are closed.