कुलमान र बब्लु राजनीतिमा संलग्न भएको आरोप, प्रधानमन्त्रीद्वारा राजीनामा माग
काठमाडौं, २२ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्तासँग राजीनामा मागेकी छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा रहेका छन्। गैरदलीय सरकारको अवधारणाविपरीत मन्त्रीद्वय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिमा संलग्न भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिन आग्रह गरेकी हुन्।
स्रोतका अनुसार हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलीय गतिविधिमा संलग्न मन्त्रीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएर सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन्। सार्वजनिक रूपमा प्रश्न उठिसकेको र सरकार गैरदलीय स्वरूपको भएकाले परिस्थिति बुझिदिन मन्त्रीद्वयसँग आग्रह गरिएको स्रोतको दाबी छ।
हाल मन्त्रीद्वय घिसिङ र गुप्ता प्रत्यक्ष रूपमा रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको बताइएको छ। रास्वपाले घिसिङलाई उपसभापति बनाउने निर्णय गरिसकेको छ भने घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराइसकेका छन्।


Comments are closed.