web analytics

नेकपा सुदूरपश्चिम सम्पर्क समितिबाट धनगीरी पार्की (शिशिर पीके) उम्मेदवारमा सिफारिस

काठमाडौं/ १८ पुस
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले युवा क्लस्टरबाट धनगीरी पार्की (शिशिर पीके) लाई उम्मेदवारीका लागि सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशतर्फ सिफारिस भएका उम्मेदवारहरूमध्ये उनी सबैभन्दा कान्छो उम्मेदवार हुन् ।
पार्टीको युवा क्लस्टरबाट उम्मेदवारीका लागि सिफारिस भएका पार्कीले यस अवसरलाई व्यक्तिगत उपलब्धिका रूपमा नभई युवा पुस्ता, श्रमजीवी वर्ग तथा उत्पीडित समुदायप्रतिको राजनीतिक उत्तरदायित्वका रूपमा ग्रहण गरेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा कान्छा पुस्ताको प्रतिनिधिका रूपमा अगाडि आएका पार्की पछिल्लो डेढ दशकदेखि पार्टीका विभिन्न मोर्चा, आन्दोलन र संगठनात्मक अभियानमा इमानदारी, अनुशासन र निरन्तरताका साथ सक्रिय रहँदै आएका छन् । उनी हाल नेपाली कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सदस्य रहेका छन् ।
यसअघि उनले कञ्चनपुर–काठमाडौं समन्वय समितिको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । साथै, युवा परिचालन विभाग सम्पर्क–समन्वय, सुदूरपश्चिम प्रदेश फ्याक्सन इन्चार्जका रूपमा युवा संगठन र पार्टी संरचनाबीच समन्वयको भूमिका निर्वाह गर्दै आएका छन् ।
त्यसैगरी, पार्की दलित मुक्ति मोर्चा विशेष प्रदेश समितिका सचिवसमेत रहेका छन् । विभिन्न सडक आन्दोलन, मोर्चागत संघर्ष तथा पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै उनले युवाको प्रतिनिधित्व, वर्गीय चेतना र जनपक्षीय राजनीतिलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन् ।
उम्मेदवारीको अन्तिम निर्णय पार्टीको विधि, सामूहिक छलफल र संस्थागत प्रक्रियाबाट हुने स्पष्ट पार्दै पार्कीले पार्टी अनुशासन, सामूहिक नेतृत्व र समाज रूपान्तरणको संघर्षप्रति आफ्नो प्रतिबद्धता कायम रहेको बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.