गङ्गा दशहरा पर्वको अवसरमा पुनर्वास नगरपालिकाद्वारा सार्वजनिक बिदा घोषणा
कञ्चनपुर, जेठ २१ ।
गङ्गा दशहरा पर्वको अवसरमा पुनर्वास नगरपालिकाले भोली बिहीवारका दिन एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मानिने गङ्गा दशहरा पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई दृष्टिगत गर्दै बिदा दिने निर्णय गरिएको हो।
नगरपालिकाको वडा नं. १ स्थित कालेश्वर महादेव मन्दिर क्षेत्रमा प्रत्येक वर्ष विशेष श्रद्धा, भक्ति र आस्थाका साथ गङ्गा दशहरा पर्व मनाउने गरिन्छ। उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्दै लैजाने उद्देश्यले समेत सार्वजनिक बिदा घोषणा गरिएको पुनर्वास नगरपालिकाले जनाएको छ।
नगरप्रमुख तोय प्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालद्वारा हस्ताक्षरित सूचनामा पुनर्वास नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरू, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूमा सार्वजनिक बिदा लागू हुने उल्लेख गरिएको छ।
सूचना मार्फत नगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई गङ्गा दशहरा पर्वको हार्दिक शुभकामना समेर व्यक्त गरेको छ।



Comments are closed.