कञ्चनपुरमा मतगणना सम्पन्न, प्रत्यक्षतर्फ दुई स्थानमा कांग्रेस र एकमा एमाले विजयी
कञ्चनपुर , ९ मङ्सिर ।
कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटै निर्वाचन क्षेत्रहरूकाे प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेकाे छ । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा सोमबार अपराह्नबाट मतगणना सुरु गरिएको थियो । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङ निर्वाचित हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई पछि पार्नु भएको हो । त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवारहरूमध्ये कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा नेकपा एमालेका उम्मेदवार वीर बहादुर थापा निर्वाचित हुनु भएकाे छ । उहाँले नेपाली काँग्रेसका बन्धु रानालाई पछि पार्नु भएको हाे । क्षेत्र नम्बर १ को २ मा नेपाली काँग्रेसका दिवान सिंह बिष्ट निर्वाचित हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टलाई पछि पार्दै काँग्रेसका बिष्ट निर्वाचित हुनु भएकाे हाे । प्रदेश सभाका दुवै क्षेत्रमा नाै नाै जना र प्रतिनिधि सभामा १० जनाकाे उम्मेदवारी रहेकाे थियाे ।
क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकाे छ । नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई पछि पार्दै साउद निर्वाचित हुनु भएको हाे । प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले नेकपा एमालेका बचन बहादुर सिंहलाई पछि पार्नु भएकाे हाे । प्रदेश सभा क्षेत्र २ मा नेपाली काँग्रेसका बहादुर सिंह थापा निर्वाचित हुनु भएकाे छ । उहाँले नेकपा एमालेका कृपाराम रानालाई पछि पार्नु भएकाे हाे । क्षेत्र नम्बर २ मा पनि प्रदेश सभाका दुवै क्षेत्रमा नाै नाै जना र प्रतिनिधि सभामा १० जनाकाे उम्मेदवारी रहेकाे थियाे ।
क्षेत्र नम्बर ३ मा पनि नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित हुनु भएकाे छ । उहाँले नेकपा एमालेका उम्मेदवार निरुदेवी पाललाई पछि पार्दै विजय हासिल गर्नु भएको हाे । क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित हुनु भएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धर्मराज जाेशी दोस्रो स्थानमा सिमित रहनु भयाे । ३ को प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका बेल बहादुर राना मगर निर्वाचित हुनु भएकाे छ । उहाँले नेकपा एमालेका सुरेन्द्र बहादुर बिष्टलाई पछि पार्नु भएकाे हाे । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका १२ जना, प्रदेश सभा ३ काे १ मा ११ जना र ३ काे २ मा ५ जनाकाे उम्मेदवारी रहेकाे थियाे ।
निर्वाचित भएका उम्मेदवारहरूलाई निर्वाचन अधिकृतकाे कार्यालयहरूले भने अहिले नै निर्वाचित भएकाे घाेषणा गरिसकेकाे भने छैन । प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि निर्धारण गरिएका मतपेटिकामा फरकफरक पदका लागि निर्धारण गरिएका मतपत्र भेटिने क्रम जारी रहेकोले विजेता घोषणा गर्न नसकिएकाे निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् ।



Comments are closed.