पुनर्वास सब-स्टेसनमा पावर ट्रान्सफर्मर सफल परीक्षण, एक साताभित्र विद्युत आपूर्ति सुरु हुने
कञ्चनपुर/असार ३
बेलौरी वितरण केन्द्रअन्तर्गत निर्माणाधीन पुनर्वास सब-स्टेसनमा पावर ट्रान्सफर्मरको नो-लोड चार्जिङ (परीक्षण) कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार गर्मीको समयमा बेलौरी वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत सेवामा देखिँदै आएको अत्यधिक भोल्टेज ड्रपको समस्या समाधान गर्न पुनर्वास सब-स्टेसन निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ। उक्त सब-स्टेसन सञ्चालनमा आएपछि पुनर्वास क्षेत्रका उपभोक्ताले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त भोल्टेजसहितको विद्युत सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
मंगलबार सम्पन्न परीक्षण कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख, बेलौरी वितरण केन्द्रका कार्यालय प्रमुख तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। परीक्षणका क्रममा सब-स्टेसनमा जडान गरिएको पावर ट्रान्सफर्मरलाई नो-लोड अवस्थामा चार्ज गरी आवश्यक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आगामी दिनमा कुनै प्राविधिक समस्या नआएमा एक साताभित्र पुनर्वास सब-स्टेसनबाट पुनर्वास क्षेत्रका विभिन्न स्थानमा विद्युत आपूर्ति सुरु गरिनेछ।
स्थानीय उपभोक्ताले लामो समयदेखि भोग्दै आएको कम भोल्टेज तथा विद्युत गुणस्तरसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ। पुनर्वास सब-स्टेसन सञ्चालनमा आएपछि क्षेत्रको विद्युत वितरण प्रणाली थप प्रभावकारी र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।


Comments are closed.