जनकल्याण माविमा राष्ट्रिय सेवा दल (NCC)को जुनियर डिभिजन तालिमको प्रथम प्रवचन सम्पन्न
कञ्चनपुर/असार १ गते ।
पुनर्वास नगरपालिका–३ आईबीआरडी
स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयद्वारा सञ्चालित सि.सं. ५२ औँ जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोलम तामाङ सभापति रहनुभएको थियो भने वराह दल गुल्मका गुल्मपति सेनानी अशोक शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सह–सेनानी साजिश शाही, निर्देशक कामना चन्द, प्रेक्षा कार्की, पुनर्वास–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक विनोदकुमार केसी, प्रशिक्षकद्वय रोमबहादुर कुँवर (हवल्दार) र सुरेन्द्र धमला (सिपाही) लगायत अभिभावक, शिक्षक तथा तालिममा सहभागी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सभापति तथा प्रमुख अतिथिले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी तथा ब्यानर वाचन गरेर गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई खादा तथा मालाले सम्मान गरिएको थियो।
शिक्षक धनमाया गुरुङ ले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथि सेनानी अशोक शाही ले आफ्नो मन्तव्यका क्रममा राष्ट्रिय सेवा दल (NCC) तालिमको महत्वबारे चर्चा गर्दै सहभागी विद्यार्थीहरूको सफल तालिम तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले NCC ले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा जिम्मेवारीबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमका सभापति मोलम तामाङ ले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य व्यक्त गर्दै यस्ता तालिमले विद्यार्थीहरूलाई असल, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै सेना, प्रहरी लगायत विभिन्न क्षेत्रमा प्रवेश गर्न समेत यस्ता तालिम उपयोगी हुने र अतिरिक्त अवसर तथा अंक प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा सामूहिक फोटो सेसन गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, अतिथिहरू तथा तालिममा सहभागी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्रधानाध्यापक सुनिलकुमार लोले गर्नुभएको थियो।


Comments are closed.