कञ्चनपुरमा बहाई मन्दिरको डिजाइन सार्वजनिक, अन्तर्राष्ट्रिय महत्वको परियोजना बन्ने
कञ्चनपुर/२२ बैशाख ।
नेपालको राष्ट्रिय बहाई समुदायले कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–३ स्थित बल्मी क्षेत्रमा निर्माण हुन लागेको बहाई मन्दिर (बहाई गृह) को डिजाइन हिजो मंगलबार औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालको राष्ट्रिय बहाई समुदायको पहलमा निर्माण हुन लागेको उक्त मन्दिर बहाई धर्मको “हाउस अफ वर्शिप” अर्थात् उपासनास्थलका रूपमा रहनेछ। बहाई धर्ममा यस्ता मन्दिरलाई “मश्रिकुल-अध्कार” भनिन्छ, जसको अर्थ ‘ईश्वरको स्तुति हुने स्थल’ हो। यसलाई अन्तर्राष्ट्रिय रूपमा Baháʼí House of Worship समेत भनिन्छ।
यो परियोजना केवल स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय महत्वको मानिएको छ। सन् २०२३ मा Universal House of Justice ले नेपालसहित विभिन्न देशमा नयाँ बहाई उपासनास्थल निर्माण गर्ने घोषणा गरेको थियो। सोही निर्णयअनुसार कञ्चनपुरलाई पनि मन्दिर निर्माणका लागि छनोट गरिएको हो।
यसअघि विश्वका विभिन्न देशहरूमा बहाई मन्दिरहरू निर्माण भइसकेका छन्। नेपालमा बन्ने यो मन्दिर स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण धार्मिक केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।
बहाई मन्दिरहरूको विशेषता भनेको यो कुनै एक धर्मका लागि मात्र सीमित नहुनु हो। यस्ता उपासनास्थल सबै धर्मका मानिसका लागि खुला हुने गर्छन्। यहाँ कुनै विशेष धार्मिक कर्मकाण्ड वा प्रवचन हुँदैन; बरु विभिन्न धर्मका पवित्र ग्रन्थहरू पाठ गर्ने र प्रार्थना गर्ने व्यवस्था हुन्छ।
यसले धार्मिक सहिष्णुता, एकता र मानवताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। बहाई समुदायका अनुसार यस्तो मन्दिर केवल पूजा गर्ने स्थल मात्र नभई सामाजिक, शैक्षिक तथा मानवीय सेवाका गतिविधिहरूको केन्द्रका रूपमा पनि विकास गरिनेछ।
नेपालमा पहिलो पटक निर्माण हुन लागेको बहाई मन्दिरले धार्मिक सहअस्तित्व, एकता र शान्तिको सन्देश फैलाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। डिजाइन अनावरणसँगै अब निर्माण प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ, जसले सुदूरपश्चिम क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक नक्सामा थप चिनाउने अपेक्षा गरिएको छ।


Comments are closed.