web analytics

इन्टरनेट गतिमा विश्व कीर्तिमान, प्रतिसेकेन्ड ४३० टेराबाइटको अभूतपूर्व सफलता

काठमाडौँ/ इन्टरनेट प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गर्दै बेलायत र जापानका अनुसन्धानकर्ताहरूले विश्वकै तीव्र इन्टरनेट गति कायम गर्न सफल भएका छन्। बेलायतको एस्टन युनिभर्सिटी र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (NICT) का वैज्ञानिकहरूले मानक अप्टिकल फाइबर प्रयोग गरी प्रतिसेकेन्ड ४३० टेराबाइट डेटा ट्रान्सफर गर्न सफल भएका हुन्।
लाइभ साइन्सका अनुसार यो गति सामान्य घरेलु ब्रोडब्यान्ड इन्टरनेटभन्दा करिब १६ लाख गुणा छिटो हो। यससँगै अनुसन्धानकर्ताहरूले सन् २०२४ मा आफैँले कायम गरेको ४०२ टेराबाइट प्रतिसेकेन्डको अघिल्लो विश्व कीर्तिमान पनि तोडेका छन्।
डेनमार्कमा सम्पन्न ५१औँ युरोपियन कन्फरेन्स अन अप्टिकल कम्युनिकेशन मा यो ऐतिहासिक उपलब्धि सार्वजनिक गरिएको हो। वैज्ञानिकहरूका अनुसार नयाँ प्रविधिले अघिल्लो प्रविधिभन्दा झन्डै २० प्रतिशत कम ब्यान्डविड्थ प्रयोग गर्दै अझ उच्च गति हासिल गरेको छ, जुन प्रविधिगत दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।
विज्ञहरूले यस उपलब्धिले भविष्यमा विश्वव्यापी इन्टरनेट पूर्वाधार, डेटा ट्रान्सफर प्रणाली र डिजिटल सञ्चार क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने बताएका छन्। डिजिटल युगमा डेटा खपत तीव्र रूपमा बढिरहेको सन्दर्भमा यस्तो प्रविधिले भविष्यको प्रविधिगत माग पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विशेषगरी क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), र उच्च गुणस्तरीय भिडियो स्ट्रिमिङ जस्ता क्षेत्रमा यसको प्रयोग अत्यन्त प्रभावकारी हुने प्रविधिसम्बन्धी विश्व चर्चित सञ्चारमाध्यम टेकराडार ले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.