महेन्द्रनगरको ‘भाइरल कुकुर’ सिम्बा फेला
कञ्चनपुर/२३ पुस ।
महेन्द्रनगरको ‘भाइरल कुकुर’ सिम्बा फेला परेको छ । हराएको ‘सिम्बा’ नामको कुकुर अन्ततः ११ दिनपछि फेला परेको हो। सिम्बा हराएपछि उसको खोजीका लागि अपनाइएका असाधारण प्रयासकै कारण यो घटना महेन्द्रनगर बजारमा चर्चाको विषय बनेको थियो।
कुकुर हराएपछि कुकुर धनी सिमाले महेन्द्रनगर बजारका गल्ली–गल्लीमा अटो चढेर फोटो ब्यानरसहित निरन्तर माइकिङ गरिन्। अटोमै सवार ती नानीको स्वर कतिखेर चिच्याहटमा परिणत हुन्थ्यो “सिम्बा, तिमी कहाँ छौ ?”
सुरुमा २० हजार रुपैयाँ इनाम घोषणा गरेकी सिमाले केही दिनमै इनाम रकम बढाउँदै एक लाख १० हजार रुपैयाँ पुर्याइन्। “मेरो बच्चा (कुकुर) को बारेमा खबर गरिदिनेलाई एक लाख १० हजार रुपैयाँ इनाम दिनेछु,” भन्दै उनले बजारभर प्रचार जारी राखिन्।
महेन्द्रनगर बजारमा सिम्बालाई क्रमशः ‘भाइरल कुकुर’ को उपमा दिइयो भने सिमाले हराएको दिनदेखि उनले राम्रोसँग खाना समेत नखाएको र मानसिक रूपमा अत्यन्तै पीडामा रहेको स्थानीयहरू बताउँछन्।
कतिपय अवस्थामा निराशा आए पनि उनले हिम्मत हारिनन्। दुई–तीन दिनसम्म आफैं अटो चलाउँदै, इनाम रकम बढाउँदै र प्रचारलाई अझ तीव्र बनाउँदै उनले खोजी अभियान निरन्तर जारी राखिन्।
अन्ततः उनको निरन्तर प्रयास सफल भयो। सिम्बा गोबरैया क्षेत्रको झोलुङ्गे पुल रोडस्थित महारुद्र गार्मेन्ट नजिकै भेटियो। घरका बालबालिकाले “सिम्बा” भनेर बोलाएपछि कुकुर उनीतर्फ गएको र त्यसपछि सिमालाई खबर गरिएको थियो। जानकारी दिने व्यक्ति शाही पञ्चकोशी डेन्टलका सञ्चालक रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै त्यहाँ पुगेकी सिमाले कुकुर आफ्नै भएको पुष्टि गरिन्। कुकुर भेटिएपछि उनी अत्यन्तै भावुक र खुसी देखिएकी थिइन्।
इनाम रकमको विषयमा उनले केही दिनभित्रै स्थानीय बर्गर हाउसमा कार्यक्रम आयोजना गरी नगद रूपमा हस्तान्तरण गर्ने बताएकी छन्।
स्रोत:पत्रकार लक्ष्मण तिवारीको फेसबुक स्टाटस र तस्वीर


Comments are closed.