web analytics

नयाँ राजनीतिक शक्तिको परीक्षा

नेपाली राजनीतिमा “नयाँ” भन्ने शब्द पटक–पटक दोहोरिएको छ। हिजो माओवादी आन्दोलन पनि जनताको ठूलो समर्थन र आशाका साथ उदाएको थियो। त्यसबेला जनताले वाहवाही गरे, परिवर्तनको सपना देखे र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरे। सुरुवाती चरणमा केही फरक काम गर्न खोजिएको पनि देखियो। तर समय बित्दै जाँदा पुराना शक्ति केन्द्रसँगको समझदारी, सत्ता–समीकरण र स्वार्थको राजनीतिले माओवादी आन्दोलन पनि विस्तारै पुरानै ढर्रामा फस्दै गयो। परिणामस्वरूप, जनताको विश्वास कमजोर बन्दै गयो र लोकप्रियता घट्दै गएको यथार्थ आज सबैका सामु छ।
आज फेरि नेपाली राजनीतिमा रा.स्व.पा.लगायत थुप्रै नयाँ राजनीतिक दलहरूको उदय भएको छ। यी दलहरूमाथि जनताले ठूलो आशा राखेका छन्। सुशासन, पारदर्शिता, जवाफदेहिता र पुरानो राजनीतिक संस्कारको अन्त्य गर्ने वाचा नै यिनको मुख्य शक्ति हो। परम्परागत दलहरूबाट निराश भएका नागरिकहरूले यिनलाई वैकल्पिक शक्तिका रूपमा हेरेका छन्।
तर इतिहासले दिएको पाठ स्पष्ट छ—नयाँ हुनु मात्र पर्याप्त हुँदैन। यदि यी नयाँ दलहरूले पनि सत्ता प्राप्तिको नाममा पुराना शक्तिसँग सम्झौता गर्दै, उही पुरानो तरिका, उही अपारदर्शी निर्णय प्रक्रिया र उही स्वार्थकेन्द्रित राजनीतिलाई निरन्तरता दिए भने जनताको भरोसा गुम्न धेरै समय लाग्दैन। जनताले आज चासोका साथ हेरेका छन्, भोलि कठोर मूल्याङ्कन पनि गर्नेछन्।
राजनीतिमा जनविश्वास सबैभन्दा ठूलो पूँजी हो। त्यो विश्वास एकपटक गुमेपछि फेरि फर्काउन अत्यन्तै कठिन हुन्छ। त्यसैले नयाँ भनिने दलहरूले सत्ता होइन, सिद्धान्तलाई प्राथमिकतामा राख्नुपर्छ। अल्पकालीन लाभका लागि दीर्घकालीन मूल्य र पहिचान गुमाउनु आत्मघाती हुन्छ भन्ने कुरा समयमै बुझ्न आवश्यक छ।
यदि साँच्चिकै परिवर्तन चाहिएको हो भने नयाँ दलहरूले पुरानो ढर्रासँग स्पष्ट दूरी कायम गर्नुपर्छ। नत्र भने आजको आशा भोलिको निराशामा बदलिन धेरै बेर लाग्दैन। इतिहासले बारम्बार दिएको चेतावनी यही हो—जनताको भरोसामाथि खेलवाड गर्नेहरू अन्ततः जनताकै कठघरामा उभिन बाध्य हुन्छन्।।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.