सुनचाँदीको मूल्यमा एकाएक उछाल
काठमाडौँ/१८ पुस ।
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार एकाएक बढेको छ। नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ उल्लेख्य रूपमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ। यससँगै सुनको मूल्यमा तोलामा २ हजार ९०० रुपैयाँको वृद्धि भएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ५२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, विदेशी मुद्रा सटही दरमा देखिएको उतार–चढाव तथा आन्तरिक माग–आपूर्तिको सन्तुलनले मूल्य वृद्धिमा प्रभाव पारेको हो। व्यापारीहरूले सुनको मूल्य वृद्धिले उपभोक्तामा असर पर्न सक्ने भए पनि लगानीकर्ताहरूको चासो थप बढ्ने बताएका छन्।


Comments are closed.