सुदूरपश्चिममा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर, जेठ ८।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा “सरकारी कामकाजको भाषा तथा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम भाषा आयोग, काठमाडौँको आयोजनामा र महाकाली बहुमुखी क्याम्पसको सहकार्यमा बुधबार सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले गरेका थिए भने प्रदेश सभा सदस्य तथा विधान समिति सभापति माननीय दिवान सिंह प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी. एन. जोशी, प्रदेश सभा सदस्यहरू माननीय कृपाराम राना तथा माननीय विमला चौधरी, सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक डा. हरिशचन्द्र भट्ट लगायत विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए।
भाषा आयोगका कायम मुकायम सचिव डा. लोकबहादुर लोप्चन, थारु भाषा विज्ञ डा. लोकबहादुर चौधरी, भाषा आयोग सदस्य डा. पुष्पराज भट्ट, नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष भिमलाल तामाङ, डोटेली भाषा विज्ञ रमेश पन्त मितबन्धु, तथा मातृभाषा अनुसन्धानकर्ता डा. ज्ञानु पौडेल अतिथिका रूपमा उपस्थित थिए।
महाकाली बहुमुखी क्याम्पसका प्रमुख श्री धर्मराज जोशीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सुदूरपश्चिम डोटेली साहित्यमा उल्लेखनीय योगदान पुर्याउने वीर बहादुर चन्दलाई (गुगुल्डि साहित्यिक मासिक पत्रिका सम्पादक) सम्मान गरिएको थियो।
कार्यक्रममा भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चनले कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा संरक्षण र शिक्षामा यसको भूमिकाबारे जानकारी गराएका थिए। डा. ज्ञानु पौडेलले “नेपालमा मातृभाषा अवस्था” विषयमा कार्यपत्र प्रस्तुत गरे भने डोटेली भाषा विज्ञ रमेश पन्त मितबन्धुले डोटेली भाषाको वर्तमान अवस्था र चुनौतीबारे प्रकाश पारे।
कार्यक्रममा सहभागी वक्ताहरूले मातृभाषा शिक्षा नीति, कार्यान्वयनका चुनौती, तथा सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको आवश्यकता र सम्भावनाबारे गहन छलफल गरेका थिए। कार्यक्रमले सुदूरपश्चिममा मातृभाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।



Comments are closed.