निजी विद्यालयलाई गुठीमा रुपान्तरण गर्न उपसमितिमा सहमति
काठमाडौं/बैशाख २२
निजी विद्यालयलाई अनिवार्य रूपमा शैक्षिक गुठी (सेवामुखी संस्था) मा रुपान्तरण गर्न संसदीय उपसमितिमा सहमति जुटेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले विद्यालय शिक्षा विधेयकको दफावार छलफल पूरा गर्दै यस्तो सहमति गरेको हो।
उपसमितिमा पहिले निजी विद्यालयहरूलाई कम्पनीमै राख्ने कि गुठीमा रूपान्तरण गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो। यस क्रममा निजी विद्यालय सञ्चालकहरूसँग पनि सल्लाह–परामर्श गरिएको थियो।
यद्यपि प्रधानमन्त्री केपी ओलीले निजी लगानीलाई यथावत राख्ने भनिरहेका बेला उपसमितिले सवै निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्तावमा सहमति जुटाएको हो।
वर्तमान विधेयकमा नयाँ खोलिने विद्यालय गुठीमा दर्ता हुनुपर्ने उल्लेख गरिएको छ, तर अहिले सञ्चालनमा रहेका विद्यालयहरू भने कम्पनीमै रहने प्रावधान थियो।
तर उपसमितिले हाल सञ्चालनमा रहेका विद्यालयहरूलाई पनि क्रमशः गुठीमा रूपान्तरण गर्ने गरी प्रस्तावलाई परिमार्जन गरेको छ।
उपसमितिका एक सदस्यका अनुसार, “अब दर्ता हुने विद्यालय त गुठीमा हुनेछ नै, अहिले सञ्चालनमा रहेका विद्यालयहरूलाई पनि निश्चित समयसीमाभित्र गुठीमा लैजानुपर्ने गरी छलफल टुंगिएको छ।”
हाल समयसीमा भने स्पष्ट तोकिएको छैन। उपसमितिले प्रतिवेदन तयार गरी समयसीमा तोक्ने जिम्मा समितिलाई दिएको छ।
संसदीय समितिले सोमबार बस्ने बैठकमा उपसमितिले गरेको सहमति र प्रगति बारे जानकारी दिनेछ।
यसअघि मन्त्रीपरिषद्ले निजी विद्यालयलाई गुठीमा लैजाने विधेयक पारित गरे पनि विद्यालय सञ्चालकको दबाबका कारण संसदमा प्रस्तुत गर्न ढिलाइ भएको थियो।
तर सांसदहरूले विधेयकमा संशोधन मार्फत शिक्षा क्षेत्रलाई सेवामुखी बनाउने प्रयास जारी राखेका छन्।
मुख्य राजनीतिक दलहरू — नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रका सांसदहरूले १० वर्षभित्र सबै निजी विद्यालय गुठीमा लैजानु पर्ने प्रस्ताव राखेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले २० वर्ष, र नेपाल मजदुर किसान पार्टीले ५ वर्षको म्याद तोकेको छ।
राप्रपा र जसपाले भने विद्यालयलाई निजी रूपमै सञ्चालन गर्न दिनुपर्ने मत राखेका छन्।
यो संशोधन नेपालको संविधानले शिक्षा क्षेत्रलाई मौलिक हकको रूपमा व्याख्या गरेको सन्दर्भमा गरिएको हो।
शिक्षा आयोग २०७५ ले पनि देशको सम्पूर्ण शिक्षा प्रणाली एउटै ढाँचामा सञ्चालन गर्न सुझाव दिएको छ, र १० वर्षभित्र निजी विद्यालयलाई सेवामुखी बनाउँदै गुठिमा रूपान्तरण गर्न सिफारिस गरेको थियो।



Comments are closed.