भारतको ओडिसा स्थित KIIT कलेजमा प्रकृति लम्साल पछी फेरि अर्की नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
भारत – भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कालीङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन । यो दुई महिनाको अन्तरालमा सो विश्वविद्यालयमा भएको दोस्रो नेपाली विद्यार्थीको मृत्युसम्बन्धी घटना हो । जसले नेपाली समुदायमा गहिरो शोक र चिन्ता सिर्जना गराएको छ।
बिहीबार (मे १, २०२५) का दिन १८ वर्षीया प्रिशा शाह आफ्नो होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी हुन । उनी पर्सा जिल्लाकी हुनभने बी.टेक कम्प्युटर साइन्सको पहिलो वर्षमा अध्ययनरत थिइन । घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान शुरू गरिसकेको छभने शवलाई पोष्टमार्टमका लागि लगिएको छ ।
यसअघि फेब्रुअरी १६ मा तेस्रो वर्षकी बी.टेक छात्रा प्रकृति लाम्सालको पनि सोही विश्वविद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। उनको मृत्युको घटनामा एक सहपाठीमाथि मानसिक त्रास र ब्ल्याकमेलको आरोप लागेको छ । ती छात्राको परिवार र साथीहरूका अनुसार, लाम्सालले विश्वविद्यालय प्रशासनलाई उत्पीडनको उजुरी दिएकी थिइन् तर कुनै ठोस कारबाही भएको थिएन ।
प्रकृति लाम्सालको मृत्युपछि क्याम्पसमा व्यापक विरोध प्रदर्शन भएको थियो । नेपाली विद्यार्थीहरूले प्रशासनविरुद्ध आवाज उठाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए । त्यस क्रममा विश्वविद्यालयले केही समयका लागि सबै नेपाली विद्यार्थीहरूलाई होस्टेल खाली गर्न आदेश दिएको थियो, जसले स्थिति झनै तनावग्रस्त बनाएको थियो ।
यी घटनाप्रति नेपाल सरकारलाई पनि ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिशा राज्य सरकार र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउने पहल थालेको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा स्वयं घटनाको निगरानीमा रहेको बताएका छन ।
छात्राहरूको श्रृंखलाबद्ध मृत्युले KIIT विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। अब जिम्मेवार पक्षहरूबाट निष्पक्ष अनुसन्धान र दीर्घकालीन समाधानको अपेक्षा गरिएको छ । नेपाली विद्यार्थीका लागि अध्ययन गर्न भारत असुरक्षित रहेको भन्दै सामाजिक सञ्जालहरुमा विरोध हुन थालेको छ ।



Comments are closed.