web analytics

पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न

कञ्चनपुर, ५ माघ
पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम
सम्पन्न सम्पन्न भएको छ । पुनर्वास ७ स्थीत राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रमको आयोजना पुनर्वास नगरस्तरीय भलमन्सा समितिले गरेको थियोे । त्यसैगरी कार्यक्रमको प्रायोजक पुनर्वास नगरपालिका रहेको थियो । थारूहरुको नयाँ वर्ष २६४८ को उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । पुनर्वास भलमन्सा समितिका संयोजक रमेश रानाको सभापतित्व, मेयर तोयप्रसाद शर्माको प्रमुख आथित्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर भुलिया कुमारी राना तथा निवर्तमान मेयर जीवनराज थापा हुनुहुन्थ्यो । त्यसैगरी अतिथिका रुपमा वडाध्यक्षहरु मित्रसिंह लामा,मुलचन्द राना, पदम रोकाया हुनुहुन्थ्यो । यसका साथै अन्य समाजसेवी तथा बुद्धिजीवीहरुको कार्यक्रममा उपस्थिति थियोे ।
कार्यक्रममा दगौरा थारुहरुका परम्परागत पैया नाच,सखिया नाच, लगौटा नाच, मघौटा नाच,लट्टि नाच,छोकरा नाच लगायत नृत्य प्रस्तुत गरिएका थिए । साथै गीतमार्फत राजनीतिक विसंगति, राजनीतिप्रती जनतामा रहेको उदासीपन र राजनीतिक नेताहरू प्रती आक्रोश व्यक्त गरिएको थियोे ।
गरिब देशमा धनी नेता भएको, युवाहरू बेरोजगार भएको,भनेको समयमा ज्यालादारी काम समेत नपाईने, बजार भाउ बढेको, तस्करी बढेको, देशमा भ्रष्टाचार बढेको, नेताहरुले भ्रष्टाचारी बचाएर देश बरबाद पारेको, जति नेता आएपनी उस्तै भएको लगायतका व्यंग्यात्मक गीत समेत कार्यक्रममा प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामाले विगतको तुलनामा कार्यक्रम सुधार भई गुणस्तरीय भएको र भलमन्साहरुले आफ्नो क्षेत्रमा थप सक्रियताका साथ काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपमेयर भूलिया कुमारी रानाले गीतमा राजनीतिक मुद्दा उठाउनुभन्दा पुरानो संस्कृती जोगाउन,समाजका विकृति विसंगति हटाउन तथा लागूऔषधका कारण नयाँ युवायुवतीमा परेको असरका वारेमा व्यंग्य गर्नु उपयुक्त हुने बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर तोयप्रसाद शर्माले नगरपालिकाले गरिरहेको काम सर्वसाधारणलाई बुझाउन नसक्दा जनतामा गलत सन्देश प्रवाह भैरहेको र यसमा भलमन्साहरुले सकारात्मक भूमिका निभाउन आग्रह गर्नुभयो । भलमन्साहरुको विधान बनाउन नगरपालिका सक्रिय रहेको समेत उहाँले बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै पुनर्वास नगरस्तरीय भलमन्सा समितिका संयोजक रमेश रानाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने पुनर्वास नगरपालिकाका लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा कमिकमजोरीलाई सच्याउँदै जाने बताउनुभयो ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.