पुनर्वास महोत्सव २०८२ भोलिदेखि सुरु
कञ्चनपुर/फागुन २४ – “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने नाराका साथ पुनर्वास ३ स्थित पैसट्ठी विगाहमा पुनर्वास महोत्सव २०८२ भव्य रूपमा सुरु हुँदैछ। महोत्सव भोलि फागुन २५ गतेदेखि चैत्र ४ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक पुनर्वास उद्योग वाणिज्य संघका अनुसार, महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी, र मनोरञ्जनात्मक गतिविधिहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्।
१५ वर्षको अन्तरालपछि पुनः आयोजना हुन लागेको यस महोत्सवमा कृषि, व्यापार, र होटल क्षेत्रका ११५ वटा स्टलहरू निर्माण गरिएका छन्, जसमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।
महोत्सवको रोचकता थप्न पल शाह, समीक्षा अधिकारी, बद्री पंगेनी लगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। साथै, स्थानीय थारु संस्कृति र परिकारको अनुभवका लागि ‘थारु गाउँ’ र होमस्टे झल्काउने संरचनाहरू तयार गरिएको छ।
आयोजकले महोत्सव स्थललाई व्यवस्थित र सुरक्षित बनाउन मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण निषेध गरिएको जानकारी दिएका छन्। जेष्ठ नागरिकहरूको सुविधा पनि विशेष रूपमा सुनिश्चित गरिएको छ।
महोत्सवको औपचारिक उद्घाटन सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाबाट हुनेछ। गेट बिहान १० बजे खुल्ने र कार्यक्रम साँझ ७:३० बजेसम्म सञ्चालन हुने छ।
आयोजकले पुनर्वास क्षेत्रको पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने विश्वाससाथ सम्पूर्ण आम सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन हार्दिक अपील गरेका छन्।
,


Comments are closed.