web analytics

सम्पादकीय:नयाँ शक्ति र जनताको कठघरामा राजनीति

 

नयाँ शक्तिहरू उल्लेख्य रूपमा राजनीतिक मैदानमा प्रवेश गरेसँगै आगामी निर्वाचन केवल नियमित प्रतिस्पर्धा मात्र होइन, दिशानिर्देशक राजनीतिक संघर्ष बन्ने देखिएको छ। यो चुनावमा नयाँ शक्ति भर्सेस पुरानो शक्ति स्पष्ट रेखामा उभिएको छ। एकातिर विगतका अभ्यास, असफलता र निराशा बोकेका पुराना शक्ति छन् भने अर्कोतिर परिवर्तन, सुशासन र आशाको नारा बोकेका नयाँ शक्ति।
तर नयाँ हुनु आफैँमा उपलब्धि होइन। जनताले नयाँ शक्तिलाई दिएको समर्थन उनीहरूमा देखिएको सिद्धान्त, आदर्श र साहसिक प्रतिबद्धताका कारण हो। पुराना शक्तिले वर्षौँसम्म सत्तामा रहेर पनि जनताको जीवनमा ठोस परिवर्तन दिन नसकेको पीडाबाट मुक्ति पाउने अपेक्षाले जनता नयाँतर्फ आकर्षित भएका हुन्।
यही कारण नयाँ शक्तिहरूका लागि यो अवसर जति ठूलो छ, चुनौती पनि त्यत्तिकै गम्भीर छ। यदि नयाँ शक्तिहरू पनि पुरानै बाटो पछ्याउँदै सत्ता, पद र व्यक्तिगत स्वार्थका लागि आफ्ना मूल्य र आदर्शलाई बिर्सिन्छन् भने जनताको भरोसा एकैछिनमा गुम्न सक्छ। सत्ता परिवर्तन मात्र होइन, राजनीतिक संस्कार परिवर्तन नै जनताको मुख्य चाहना हो।
नयाँ शक्तिहरूले यो चेतावनीलाई हल्का रूपमा लिनु हुँदैन। जनताले अब नाम होइन, काम हेर्छन्। भाषण होइन, व्यवहार मापन गर्छन्। पुरानो शक्तिलाई अस्वीकार गरिसकेका नागरिकहरूले नयाँ शक्तिलाई पनि उही गल्ती दोहोर्‍याएको अवस्थामा माफ गर्ने छैनन्। यो पुस्ता केवल मतदाता मात्र होइन, सजग निर्णायक पनि हो ।
आगामी निर्वाचनमा जित हारभन्दा पनि ठूलो प्रश्न राजनीतिक दिशाको हो। नयाँ शक्तिहरूले आफ्नो सिद्धान्त, आदर्श र जनउत्तरदायी व्यवहारमा अडिग रहन सके भने यो चुनाव इतिहासको मोड बन्न सक्छ। तर यदि उनीहरू सत्ता र पदको लोभमा पुरानै अभ्यासमा मिसिए भने, यो अवसर अन्तिम अवसर हुनेछ।
राजनीति अब व्यक्तिको होइन, मूल्यको प्रतिस्पर्धा हो। नयाँ शक्तिहरूले यो सत्य बुझेर अघि बढे भने मात्र जनता उनीहरूको साथमा रहनेछन्। नत्र, परिवर्तनको खोजीमा उभिएको जनता फेरि अर्को नयाँ विकल्प खोज्न ढिलो गर्ने छैनन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.