सम्पादकीय: नयाँ शक्तिको एकता : आशा र जिम्मेवारी
अहिले देश गम्भीर विषम परिस्थितिको सामना गरिरहेको छ। राजनीतिक अस्थिरता, आर्थिक निराशा, बढ्दो भ्रष्टाचार र जनआक्रोशका बीच देशले स्पष्ट निकास खोजिरहेको छ। यही सन्दर्भमा नयाँ शक्तिहरू आपसमा मिल्नु सकारात्मक संकेत हो। रवि लामिछाने र बालेन शाहबीच देखिएको सहकार्य मात्र होइन, देशलाई नयाँ दिशा तर्फ डोर्याउन चाहने सबै इमानदार र सुधारवादी शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता हो।
लामो समयदेखि देशमा व्याप्त कमिसनखोरी, सत्ता दुरुपयोग र संस्थागत भ्रष्टाचारले जनता आजित भइसकेका छन्। पुराना दलहरूको कार्यशैलीप्रति बढ्दो असन्तोषका कारण जनताले वैकल्पिक शक्तिको खोजी गरिरहेका छन्। यही खालीपनमा नयाँ दलहरूको आगमनले जनतामा केही आशा र उत्साह थपेको छ। तर यो उत्साह केवल नाराले होइन, व्यवहारिक काम र परिणामले मात्र टिक्न सक्छ।
जनताको समर्थन पाउन पुराना दललाई गाली गर्नु मात्रै पर्याप्त हुँदैन। विगतका नराम्रा क्रियाकलापको आलोचना आवश्यक भए पनि भविष्यको स्पष्ट योजना, पारदर्शी नेतृत्व र नतिजामुखी काम देखाउन अझ बढी जरुरी छ। सुशासन, जवाफदेहिता र जनसेवामा आधारित राजनीति नै नयाँ शक्तिको वास्तविक परिचय हुनुपर्छ।
लोकतान्त्रिक गणतन्त्रको नाममा फैलिएको अविश्वास र निराशाको कालो बादल हटाउन शान्ति, अमनचयन र स्थायित्वको वातावरण निर्माण अपरिहार्य छ। अस्थिरता र भ्रमको फाइदा उठाएर ‘धमिलो पानीमा माछा मार्न’ खोज्ने तत्वहरू अझै सक्रिय छन्। यस्ता प्रवृत्तिलाई परास्त गर्न सशक्त राजनीतिक इच्छाशक्ति र जनताको विश्वास दुवै आवश्यक छ।
नयाँ शक्तिहरूले अब विकल्प मात्र होइन, भरोसा पनि दिनुपर्ने समय आएको छ। एकता, इमानदारी र कामको संस्कृतिमार्फत मात्र देशलाई सही दिशामा अघि बढाउन सकिन्छ। जनताले खोजेको परिवर्तन शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ ।


Comments are closed.