एक दशकमा एक नेता जन्माइरहेको नेपाल, अबको दशकका नेता होलान्– रवि, बालेन र कुलमान ?
काठमाडौ । तीन वर्षअघि बालेन्द्र शाह बालेन, हर्क साम्पाङ र गोपी हमालको उदय अनपेक्षित थियो । २०७९ सालको स्थानीय चुनावमा काठमाडौं महानगरमा शाह, धरान उपमहानगरमा साम्पाङ र धनगढी उपमहानगरमा हमालको अनपेक्षित उदयले तीनवटा सन्देश दिएको थियो । एक– परम्परागत दलप्रति वितृष्णा । दुई– बढ्दो असन्तुष्टि र आक्रोश । र, तीन– नयाँ अनुहारमार्फत परिवर्तन ।
नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रप्रति नागरिकमा आक्रोश र असन्तुष्टि बढ्दो क्रममा रहेको संकेत स्थानीय चुनाव मात्र होइन, मंसिरको प्रतिनिधिसभा चुनावमा पनि प्रकट भएको थियो । त्यतिबेलाको चुनावी नतिजाले दशकौँदेखि नागरिकको घरदैलोमा भोट माग्न आउने एकै अनुहारप्रति वितृष्णा र आक्रोश मात्र प्रकट गरेको थिएन, विद्रोह डिलमा पुगेको सन्देश पनि दिएको थियो ।
नागरिक असन्तुष्टि विद्रोहको पहिलो झिल्का २०७९ को स्थानीय तह चुनावमा प्रस्फुटन भएको विश्लेषण भइरहेको छ । त्यसैको जगमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेर २०७९ मंसिरको प्रतिनिधिसभा चुनावी मैदानमा ओर्लिए । ६ महिने प्रयासमा लामिछानेको नतिजा पनि अनपेक्षित नै थियो । ती दुवै चुनावी नतिजाले नागरिक परिवर्तनको पक्षमा रहेको सन्देश मात्र दिइरहेका थिएनन्, परम्परागत दलहरूलाई सुध्रिन दबाब पनि बढाएका थिए । परम्परागत दलका नयाँ अनुहारले चुनाव आफ्नो पक्षमा पार्नुले पनि त्यही पुष्टि गरेको थियो । एक प्रकारले नागरिक असन्तुष्टि भ्यान्टिलेट गर्न चाहन्थे– नयाँ अनुहारमार्फत ।
समाजमा दुर्गा प्रसाईं, निकोलस भुसाल, सागर ढकाल, ज्ञानेन्द्र शाहीहरू आदर्श पात्रजस्ता भइरहेका थिए । उनीहरूको मिथ्या सूचना र सन्देशलाई समाजको ठूलो पंक्तिले विश्वास मात्र होइन, रामवाण ठान्न थालेको थियो । समाजको आक्रोशले सहज रूपमा भ्यान्टिलेट हुन नपाएकै कारण २३ र २४ भदौमा जेन–जीमार्फत विद्रोह भएको विश्लेषण भइरहेको छ । यो विद्रोहसम्म आइपुग्दा नागरिक कांग्रेस, एमाले र नेकपालाई विश्वास गर्ने अवस्थामा भने छैनन् । कम्तीमा अबको एउटा चुनाव यी तीन दलका लागि निकै पेचिलो बन्ने देखिन्छ । त्यसरी हेर्दा अबको दशक कांग्रेस, एमाले र नेकपाबाहेकका दलका नयाँ अनुहार हावी हुने अनुमान गर्न सकिन्छ ।
पछिल्ला दिनमा रवि लामिछाने, बालेन र कुलमान घिसिङ चुनावी सहकार्यको प्रयासमा छन् । यो हेर्दा अबको दशक रवि, बालेन र कुलमानजस्ता नयाँ अनुहारको वरिपरि घुम्न सक्ने विश्लेषण गर्न सकिन्छ ।
दशकका अनुहार
नेपालको राजनीतिक इतिहासलाई पर्गेल्दा दशकमा नेताहरू हावी हुने देखिन्छ । जस्तो, २००७ देखि २०१७ सम्म बीपी कोइरालाको दशक मान्न सकिन्छ । त्यतिबेला बीपीले प्रजातन्त्रलाई संस्थागत गर्ने प्रयाससहित बहुमतको सत्ता चलाए । २०१७ देखि २०२७ सम्म राजा महेन्द्र शाहको दशक थियो । उनले निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी २०१७ सालमा ‘कू’ गरे । राजा महेन्द्रको २०२७ सालमा निधन भएको थियो । त्यसपछि २०२७ देखि २०३७ सम्म राजा वीरेन्द्रको दशक थियो । त्यतिबेला नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रयासदेखि २०३७ सालको जनमत संग्रहसम्म आईपुग्दा वीरेन्द्र बाहुबलीमा राज्य चलेको थियो ।
त्यसपछिको २०४७ सालसम्मको दशक भने निकै गिजोलिएको दशक हो । प्रजातन्त्रका लागि भएका आन्दोलनहरू संगठित हुने, पञ्चायत कमजोर हुने र फेरिँदो विश्व परिवेशको प्रभाव पनि देखिन थालेको थियो । त्यतिबेला गणेशमान सिंह, मदन भण्डारीहरूको प्रभाव निकै थियो । २०४७ पछि २०५६ सम्मको दशकमा भने कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरूको दशक रह्यो । २०५६ देखि २०६४ सम्म गिरिजाप्रसाद कोइरालाको दशक थियो । माओवादीको सशस्त्र युद्धविरुद्ध सेना परिचालन गर्न नसकेर प्रधानमन्त्री छोड्नुपर्दाको पीडामा रहेका कोइराला २०६२ मा आइपुग्दा तिनै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकासम्म पुगे ।
२०५८ सालमा वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहको पनि प्रभाव रह्यो । उनले आफ्नो हातमा सत्ता लिएर २०५९ सालदेखि २०६२ सम्म सत्ता चलाए । यहीबीचमा कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा मात्र ल्याएनन्, २०६४ मा संविधानसभा चुनाव पनि गराए । आफ्नो पार्टी चुनावमा हार्दै छ भन्ने थाहा पाउँदापाउँदै कोइरालाले चुनाव गराए शान्ति प्रक्रियाका लागि । २०६४ को चुनावपछि उदाएको माओवादी र त्यसका नेता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रह्यो २०७२ सम्मको दशक ।
२०६२ को १२ बुँदे समझदारीपछि राजनीतिक खेलाडीको रूपमा उदाएका प्रचण्ड २०७२ मा संविधानसभाबाट संविधान जारी गर्दासम्म प्रभावी रहे । २०७२ मा संविधान जारी प्रक्रियासँगै आफ्नो प्रभाव विस्तार गरेका एमाले अध्यक्ष केपी ओली २०८२ सम्म हावी भए । यसबीचमा उनले भारतीय नाकाबन्दीविरुद्ध चर्को अडान मात्रै राखेनन्, एक अर्थमा भारतलाई झुकाए । नेपालको नयाँ नक्सा जारी गर्नेदेखि माओवादी केन्द्रसँग मिलेर पहिलोपटक कम्युनिस्टहरूको बहुमत ल्याउने नेतृत्वदायी भूमिका पनि खेले । पछिल्ला वर्षमा उनको गिर्दो साख २३ र २४ भदौको जेन–जी विद्रोहपछि झन् ओरालो लागेको छ ।
त्यसैले, नेपालको राजनीतिक इतिहासमा दशकमा नेताहरू हावी हुने देखिएको छ । विगतका अनुभवलाई हेर्दा २०८२ पछि अर्को नेताको दशकको रूपमा उदाउने सम्भावना देखिन्छ । त्यसैले, अब रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरूको वरिपरिको दशक रहन सक्ने विश्लेषण गर्न सकिन्छ ।
राजनीतिक विश्लेषक चन्द्रदेव भट्टको विश्लेषणमा हरेक दशकमा नेपालमा राजनीतिक आन्दोलन हुने र त्यो आन्दोलनले नयाँ नेतृत्व जन्माउने गरेको छ । भट्टले भने, ‘हरेक दशकमा नेपालमा राजनीतिक आन्दोलन हुन्छ र नयाँ शासन व्यवस्थाको कल्पना गर्छ । त्यो नभएपछि आन्दोलन हुन्छ । हरेक दश वर्षमा नयाँ जेनेरेसन आउँछ, त्यो जेनेरेसनको आंकाक्षा पूरा नभएपछि आन्दोलन हुन्छ । त्यो आन्दोलनले नयाँ नेतृत्व जन्माउँछ वा नयाँ नेतृत्वले आफू सुहाउँदो आन्दोलन पनि गराएको हुन्छ ।’ त्यसैले, भट्टको विश्लेषणमा अब रवि, बालेन र कुलमान वा उनीहरूजस्तै नयाँ अनुहारको दशक हुने सम्भावना छ ।
अर्का राजनीतिक विश्लेषक राम गुरुङ पनि अबको दशक नयाँहरूको हुने बताउँछन् । कुराकानीमा गुरुङले २०९२ सम्मको दशक रवि, कुलमान र बालेनहरूकै हुने दाबी गरे । उनले भने, ‘रवि, बालेन र कुलमानमार्फत नागरिकले परिवर्तनको अपेक्षा राखेका छन् । यद्यपि, उनीहरूका पनि लिमिटेसन छन्, तर अबको दशक नयाँहरूकै हुने चाहिँ देखिन्छ ।’



Comments are closed.