web analytics

यसरी मारीएका थिए टिकापुरमा भुपेन्द्र बडुवाल

धनगढी / कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या अनुसन्धान जारी छ । हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् ।
यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति टीकापुरमा उनको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नवीन हाल फरार छन् । नवीन टिकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुनसक्ने प्रहरी आशंका छ ।
यस्तो छ हत्या अगाडिको अन्तरकथा
काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए ।
प्रहरीका अनुसार टिकापुर–लम्की क्षेत्रमा ५/७ ओटा गुण्डा समूह सक्रिय छ । गुण्डा समूहमध्ये सबैभन्दा ठूलो समूहको नेतृत्त्व गरेका थिए नवीन रावलले । भपुेन्द्र पनि यसअघि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
एक÷डेढ महिनाअघि लम्कीस्थित एक रिसोर्टमा नवीनले भुपेन्द्रलाई भेट्न बोलाएको देखिएको अनुसन्धानमा सलग्न एक अधिकारीले बताए ।
उनले भने, “त्यहाँ नवीनले भुपेन्द्रलाई आफ्नो ग्याङमा समाहित हुन आग्रह गरेका रहेछन् । तर, भुपेन्द्रले आफू अमेरिका जाने तयारीमा रहेकाले अब गलत काम गर्दिँन भन्दै प्रतिवाद गरेका रहेछन् । भुपेन्द्रलाई नवीनले आफ्नो समूहका बारेमा धेरै कुरा भनेकाले सूचना चुहिन्छ भन्ने डरले उनको हत्या भयो कि भन्ने आशंका हामीलाई छ ।”
भुपेन्द्रले नवीनलाई मामा भन्ने गरेको पाइएको छ । उनीहरु गाउँले नातामा मामा–भाञ्जा पर्ने गरेको देखिएको छ । भुपेन्द्र र नवीनको समूहबीच विगतमा केही विवाद रहेको पनि प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्याको अर्को कारण कपिल श्रेष्ठ हुनसक्ने प्रहरी आशंका छ । काठमाडौंमा बस्दै आएका कपिल श्रेष्ठ केही दिनअघि टिकापुर पुगेका थिए । नवीनको समूहले कपिल आएको सूचना पाएको थियो । एक प्रहरी अधिकारीले भने, “कपिललाई नवीनको समूहले खोजिरहेको थियो । उनीहरुबीच ठूलै दुश्मनी थियो । कपिल र नवीन फरक फरक समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहँदै आएको खुलेको छ ।”
हत्या हुनुअघि भुपेन्द्रलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ । फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेर आग्रह गरेको पाइएको छ । कपिलले आफूलाई खतरा रहेको बताएपछि भुपेन्द्र साथी दिपेश न्यौपानेसँग उनलाई भेट्न जान लागेका थिए । तर, बाटोमै नवीनको समूहले भुपेन्द्रमाथि आक्रमण गर्यो । त्यतीबेला कपिल पनि केही टाढा मात्रै रहेको र आक्रमण गर्न लागेको देखेपछि उनी भागेको देखिएको छ । भुपेन्द्रसँगै रहेका दिपेश पनि भागेर ज्यान जोगाउन सफल भएका थिए ।
दिपेश दुई घण्टापछि प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरु भन्छन्, “त्यो दिनको घटना नियोजित रुपमा भएको देखिन्छ । भुपेन्द्रलाई बाटोमै घेराबन्दीमा पारियो । भुपेन्द्र बाटोमा नवीनको समूहको हात नलागेको भए कपिल श्रेष्ठको समूह पनि आक्रमणको योजना बनाउँथ्यो ।”
घटनामा नवीनसहित अन्य ३ जना फरार छन् । प्रहरीको विशेष टोलीले उनीहरुको खोजी गरिरहेको छ । तर, नवीन र कपिल श्रेष्ठको ‘कनेक्सन’ काठमाडौंका गुण्डा समूहसँग समेत रहेको देखिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.