बलिउड अभिनेता टाइगर श्रॉफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
मुम्बई, १ कार्तिक २०८३।
बलिउडका चर्चित अभिनेता टाइगर श्रॉफ सवार गाडीमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी लाइभलगायतका अनुसार आइतबार भएको घटनामा श्रॉफ सकुशल रहेका छन् भने उनका चालकसहित दुई जना घाइते भएका छन्।
प्रारम्भिक विवरणअनुसार जुहूस्थित पुष्पा पार्क क्षेत्रमा मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले श्रॉफको गाडीलाई लक्षित गरी गोली चलाएका थिए। केही सञ्चारमाध्यमले घटनास्थलमा करिब पाँच राउन्ड गोली प्रहार भएको जनाएका छन्। यद्यपि गोलीको सङ्ख्याबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
घटनापछि घाइतेहरूलाई उपचारका लागि मुम्बईस्थित नानावती अस्पताल लगिएको समाचारमा उल्लेख छ। महाराष्ट्र सरकारका मन्त्री आशीष शेलारले घटनाबारे मुम्बई प्रहरी आयुक्तसँग कुराकानी गरेको जनाइएको छ।
घटनाको कारण, आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा उनीहरूको उद्देश्यबारे अनुसन्धान जारी रहेको बताइएको छ। अभिनेता श्रॉफमाथि भएको भनिएको यस घटनाले मुम्बईमा कलाकारहरूको सुरक्षा व्यवस्थाबारे समेत चर्चा सुरु भएको छ।



Comments are closed.