सम्पादकीय: एआई र नेपाली संगीत : सृजनात्मकताको सङ्कट कि नयाँ चुनौती?
नेपाली सांगीतिक क्षेत्रमा पछिल्ला दिनहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। केही सेकेन्डमै धुन तयार हुने, चर्चित गायक–गायिकाको आवाज नक्कल हुने र शब्द–संगीत स्वचालित रूपमा उत्पादन हुने अवस्थाले संगीत सिर्जनाको परम्परागत मूल्य र श्रमलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ। सतहमा हेर्दा यो प्रविधि आधुनिकता र सहजताको प्रतीक जस्तो देखिए पनि कलाकारको भविष्यसँग जोडिएको गम्भीर चिन्ताको विषय हो ।
संगीत साधनामा जीवन समर्पण गरेका कलाकारहरूका लागि एआई एउटा झट्काजस्तै बनेको छ। वर्षौँको अभ्यास, अनुभूति र साधनाबाट जन्मिएको सिर्जना आज केही क्लिकमै “तयार” हुन थालेपछि मानव श्रमको मूल्य खस्किने खतरा देखिएको छ। अझ चिन्ताजनक पक्ष त के छ भने, चर्चामा रहेका स्थापित कलाकारहरू समेत ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ। यदि यही प्रवृत्ति नियन्त्रणविहीन रूपमा अघि बढ्यो भने भविष्यमा कलाकारको रोजगारी नै सङ्कटमा पर्न सक्छ।
संगीत केवल धुन र शब्दको संयोजन मात्र होइन, यो अनुभूति, पीडा, प्रेम, विद्रोह र जीवन भोगाइको अभिव्यक्ति हो। एआईले यस्ता अनुभूतिहरूको नक्कल त गर्न सक्छ, तर आत्मा दिन सक्दैन। तर बजार र लोकप्रियताको नाममा यदि नक्कललाई नै सिर्जनाको विकल्प बनाइयो भने सृजनात्मकता क्रमशः कमजोर हुँदै जान्छ। यसले कलाकारलाई सर्जकभन्दा पनि प्रविधिमा निर्भर उपभोक्ता बनाउने खतरा बोकेको छ।
प्रश्न उठ्छ—के एआईको बढ्दो प्रयोगले भविष्यमा कलाकारको सृजनात्मकता नष्ट गरेर मान्छेलाई कलाविहीन मेसिन बनाउने हो? यदि आजै सचेत पहल गरिएन भने यो आशङ्का निराधार नहुन सक्छ। प्रविधि स्वयंमा खराब होइन, तर यसको प्रयोगको दिशा गलत भयो भने यसले संस्कृति र कलालाई नै खोक्रो बनाउन सक्छ।
अब आवश्यक छ सन्तुलन। एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्ने, तर सृजनाको केन्द्रमा मानव अनुभूति, श्रम र मौलिकतालाई नै राख्ने नीति आवश्यक छ। राज्य, सङ्गीतकर्मी सङ्घ–संस्था र स्वयं कलाकारहरूले यसबारे स्पष्ट मापदण्ड र नैतिक सीमारेखा तय गर्नुपर्छ। मौलिक सिर्जनाको संरक्षण, कपीराइटको कडाइ र कलाकारको श्रमको सम्मान सुनिश्चित नगरेसम्म एआई नेपाली संगीतका लागि अवसरभन्दा बढी संकट बन्नेछ।


Comments are closed.